वीरगन्ज । नव नियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट राजीनामा दिन अप्रत्यक्ष रूपमा आग्रह गरेका छन्।
जेनजी आन्दोलनपछिको अवस्था र जनताको माग बुझेर पद त्याग गर्न उनले शाक्यलाई सन्देश पठाएको बताइएको छ ।
मन्त्री घिसिङले समयको माग अनुसार सबैले आफ्नो विवेक प्रयोग गरेर बाटो खुला गर्नुपर्ने बताए। उनको यो भनाइ शाक्यलाई नै लक्षित भएको बुझिएको छ। जेनजी आन्दोलनको क्रममा शाक्यको घरमा पनि आगजनी भएको थियो।
सरकारी कार्यक्रममा सहभागी हुन कोरिया गएका शाक्य आज स्वदेश फर्कँदै छन्। मन्त्री घिसिङ र उनीनिकट स्रोतका अनुसार, शाक्य आफैंले परिस्थितिको गम्भीरता बुझी पद त्याग गर्नेछन् भन्ने आशा गरिएको छ। उनको राजीनामापछि मात्र नयाँ कार्यकारी निर्देशक नियुक्तिको विकल्पमाथि विचार गरिनेछ।