ट्रेन्डिङ

नेतृत्व छाड्न अनिच्छुक ओली, कार्यवाहक नदिँदा एमाले अनिर्णयको बन्दी

वीरगन्ज । जेनजी आन्दोलनले सत्तापलट भएपछि नेकपा एमालेभित्र नेतृत्वको गम्भीर सङ्कट देखिएको छ।

पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको हप्ता दिनभन्दा बढी भइसक्दा पनि पार्टीको कार्यवाहक कसैलाई नदिँदा एमाले अन्योलमा परेको छ।

राजीनामापछि सैनिक ब्यारेकमा रहेका ओलीले पार्टीका नेताहरूसँग सम्पर्कमा रहे पनि औपचारिक रूपमा कुनै पनि बैठक वा निर्णय गरेका छैनन्। उनीनिकट नेताहरूका अनुसार ओलीले आफू बाहिर ननिस्किँदासम्म कुनै पनि बैठक नराख्न र निर्णय नगर्न निर्देशन दिएका छन्। यसले पार्टी महासचिव शंकर पोखरेलले जारी गर्ने वक्तव्यलाई नै पार्टीको निर्णय मान्नुपर्ने अवस्था सिर्जना भएको छ।

पार्टीको कठिन परिस्थितिमा समेत कार्यवाहक नदिँदा ओलीले नेतृत्व छाड्न नचाहेको र ब्यारेकबाटै पार्टी चलाउन खोजेको आरोप लागेको छ। एमालेको इतिहासमा पार्टी प्रमुख विदेश जाँदा वा संकटमा पर्दा कार्यवाहक दिने परम्परा रहेको थियो। मनमोहन अधिकारी, मदन भण्डारी र माधव नेपालजस्ता नेताहरूले विभिन्न समयमा पार्टीको नेतृत्व हस्तान्तरण गरेको नजिर छ। तर, अहिले ओलीले यो परम्परालाई बेवास्ता गरेका छन्।

कार्यवाहक नदिँदा पार्टीभित्रका नेताहरूबीच मतभेद र अन्योल बढेको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई लामो समयसम्म यस्तो अन्योलमा राख्न नहुने बताउँछन्। यसले कार्यकर्तामा निराशा बढाएको र राजनीतिक कोर्सलाई समेत गलत दिशामा लैजान सक्ने उनको भनाइ छ। यस्तो संवेदनशील अवस्थामा ओलीको निर्णयले एमालेलाई थप जटिलतामा फसाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै