राजविराज । जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि सप्तरीको छिन्नमस्ता गाउँपालिकाले पाँच लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको संयुक्त बैठकले दुई दिनको तलब भत्ता बराबरको रकम राष्ट्रिय पुनर्निर्माण कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए।
अध्यक्ष चौधरीले यस निर्णयमार्फत गाउँपालिका पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाहको दिशामा अघि बढ्न प्रतिबद्ध रहेको बताए। उनले नागरिकलाई कुनै पनि असुविधा नहोस् भनी दक्ष र जिम्मेवार ढङ्गले सेवा प्रदान गरिरहेकोमा अब त्यसलाई अझ परिस्कृत गर्दै लैजाने पनि बताएका छन्। देशभर जेनजी आन्दोलनका क्रममा सिंहदरबारसहित विभिन्न स्थानमा ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको छ।