वीरगन्ज । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले जेनजी आन्दोलनको समर्थनमा आफ्नो पदबाट राजीनामा दिएका छन्।
उनले भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए। आज उनले उपसभामुख अप्सरा चापागाईँलाई ह्वाट्सएपबाट लिखित राजीनामा पत्र पठाएका हुन्।
राजीनामा पत्रमा पाठकले भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको हिंसा र केही राष्ट्रवादी नेपालीले ज्यान गुमाएपछि आफू भावुक भएको उल्लेख गरेका छन्। ‘राष्ट्र रोइरहेका बेला युवा पुस्ताको चाहना र भावनाविपरीत पदमा बसिरहनु उचित हुँदैन भन्ने लाग्यो,’ उनले लेखेका छन्।
नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ अनुसार आफूले सभामुख पदबाट राजीनामा दिएको उनले पत्रमा जनाएका छन्। प्राविधिक कारणले कानूनी प्रक्रिया पूरा गर्न ढिलाइ भएको पनि उनले स्पष्ट पारेका छन्।