वीरगन्ज । जेनजी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले असोज १ गते बुधबार राष्ट्रिय शोक घोषणा गरेको छ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइने र राष्ट्रिय झण्डा आधा झुकाइने जानकारी दिएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिपछि सरकारले पीडित परिवारलाई राहत र मृतकलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार भोलि राष्ट्रिय शोक मनाउन लागिएको हो।
मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार, मृतकको सम्मानका लागि यो कदम चालिएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।