वीरगन्ज । जेनजी आन्दोलनको क्रममा नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको आगजनीपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पहिलो पटक सार्वजनिक भएका छन्।
लामो समयदेखि सुरक्षाकर्मीको घेरामा रहेका उनी आज बिहान पेरिसडाँडा पुगेर क्षतिको अवलोकन गरेका हुन्।
आन्दोलनले उग्र रूप लिएपछि सुरक्षाका कारण प्रचण्डसहितका नेताहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा सारेको थियो। यसबीच, आन्दोलनकारीहरूले माओवादी केन्द्रीय कार्यालयमा आगजनी गरे, जसले पार्टीलाई ठूलो क्षति पुगेको छ।
प्रचण्डले पार्टी कार्यालयको निरीक्षण गर्नुअघि हिजो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि घटनास्थलको अवलोकन गरेका थिए। अहिले पार्टी कार्यकर्ताहरूले कार्यालयको सरसफाइ गरिरहेका छन् र यसको पुनर्निर्माणको तयारी भइरहेको बुझिएको छ।