वीरगन्ज । काठमाडौंको सडकमा जेनजी पुस्ताको विद्रोहको ज्वाला दन्कियो।
त्यो आगोले सरकारी संयन्त्रमा वर्षौंदेखि जमेको धूलोलाई मात्र जलाएन, बरु हजारभन्दा बढी सरकारी सवारी साधनलाई पनि खरानी बनायो। यो कुनै सामान्य तोडफोड थिएन, यो थियो एउटा पुस्ताको आक्रोश जसले व्यवस्थालाई नै चुनौती दिँदै सरकारी दमनको बदलामा सरकारी गाडीहरूलाई आफ्नो प्रतिकारको निशाना बनायो।
प्रारम्भिक तथ्यांकले नै बताउँछ, ४४१ वटा चारपाङ्ग्रे र ६०१ वटा दुईपाङ्ग्रे सवारी साधन, जम्मा १,०४२ सरकारी गाडीहरू जलेर नष्ट भएका छन्। सडक विभाग, सर्वोच्च अदालत, शहरी विकास विभागदेखि प्रधानमन्त्री कार्यालयसम्मका गाडीहरू खरानीमा परिणत भए।
१९ जनाको ज्यान गएको भदौ २३ गतेको त्रासदीपछि उच्चपदस्थ अधिकारीहरूले सरकारी गाडीहरू सुरक्षित राख्न निर्देशन दिएका थिए। तर जेनजीको आक्रोश यति तीव्र थियो कि सिंहदरबार परिसरभित्र र बाहिरका सरकारी कार्यालयहरूमा पनि उनीहरूले तोडफोड, लुटपाट र आगजनी गरे।
