वीरगन्ज । जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका छन्।
भवनको सरसफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्ण रूपमा जलेको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटमा संलग्न कुनै व्यक्तिको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। शव पूर्ण रूपमा जलेका कारण तत्काल पहिचान गर्न भने कठिन भएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपीला चुडालले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारेको र शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको जानकारी दिएकी छन्। उनी भन्छिन्, ‘हामीले घटनाबारे थप अनुसन्धान गरिरहेका छौं।’
जेनजी आन्दोलनको क्रममा देशभरका धेरै भाटभटेनी स्टोरमा आगजनी र तोडफोड भएको थियो। यसअघि धरानको भाटभटेनीमा भएको आगजनीमा पनि ४ जनाको मृत्यु भएको थियो।