वीरगन्ज । जेनजी आन्दोलनका क्रममा वीरगन्ज महानगरपालिका कार्यालयमा घाइते भएकी नगर प्रहरी जवान अन्जली पटेलको वीरगन्ज हेल्थ केयर हस्पिटलले निःशुल्क उपचार गरेको छ।
मानवीय सेवाको उदाहरण प्रस्तुत गर्दै अस्पतालले उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा गरिदिएको हो।
गत मंगलबार प्रदर्शनकारीहरूले महानगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गर्दा २४ वर्षीया पटेल दोस्रो तल्लामा ड्युटीमा थिइन्। त्यसै क्रममा उनलाई भऱ्याङ लगाएर तल झार्ने प्रयास गरियो, तर प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
तत्काल उद्धार गरी वीरगन्ज हेल्थ केयर हस्पिटल पुऱ्याइएकी पटेलको दुई दिनसम्म उपचार गरिएको थियो। उनको अवस्था सामान्य भएपछि बुधबार डिस्चार्ज गरिएको हो।
अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीका अनुसार, नगर प्रहरी पटेलको उपचारमा लागेको सबै शुल्क, औषधिसहित, अस्पतालले नै व्यहोरेको छ।