वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजनीतिबाट बिदा लिन आग्रह गरेका छन् ।
उनले एक भिडियो सन्देश जारी गर्दै दशकौँदेखि तीन शीर्ष नेताहरू नै सत्ताको केन्द्रमा रहँदा जनतामा ठूलो असन्तुष्टि बढेको बताए ।
महामन्त्री शर्माले अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै भने, ‘मैले पार्टीमा पनि यो कुरा उठाएको थिएँ, तर निर्णय गराउन सकिनँ। चुनाव हुन्छ, नयाँ सरकार बन्छ तर प्रधानमन्त्री उनीहरू नै। उहाँहरूले अब छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने अवस्था आयो, त्यसैले अब यसलाई विधि र प्रणालीमा ल्याउनुपर्छ।’
महामन्त्री शर्माले अब पार्टीभित्र गम्भीर आत्मसमीक्षा र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्ने बताए । साथै, उनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदजस्ता पदका लागि निश्चित कार्यकाल तोक्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन् । उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक मात्र बन्न पाउने गरी व्यवस्था गर्नुपर्ने विचार राखेका छन् ।