
काठमाण्डौँ । सरकारले कोरोनाको जोखिम बढेको भन्दै खोप अभियान सुरू गरेको छ ।
परिवार कल्याण महाशाखाका अनुसार पछिल्ला दिनमा स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान सञ्चालित छन् ।
बेलायत, अमेरिका लगायतका युरोपेलि मुलकमा ओमिक्रोनको सबभेरियन्ट एक्सइसीले संक्रमण, भर्ना र मृत्युदर बढाइरहेको छ ।
नेपालमा पनि जोखिम कायम नै छ । त्यसैलाई मध्यनजर गर्दै सरकारले स्थानीय तहमा मागअनुसार खोप उपलब्ध गराउँदै अभियान सञ्चालन गरेको हो ।
परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले विभिन्न स्थानीय तहले खोप अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।
‘नेपालमा पनि धेरै जनाले कोरोनाको लक्षण भएपनि परीक्षण गराउनु भएको छैन । बाहिरी मुलकमा पनि संक्रमण बढिरहेको छ’, डा. लालले भने, ‘स्थानीय तहसँगको छलफल गरेर खोप अभियान सञ्चालन गरिएको हो ।’
डा. लालको अनुसार स्थानीय तहले आवश्यकताको आधारमा खोप केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रसँग माग गरिरहेका छन् ।
तर अहिले कति स्थानीय तहले खोप सञ्चालन गरिहेको छन् भन्ने महाशाखासँग यकिन तथ्यांक छैन । अधिकांश स्थानीय तहले आफ्नो तालिका बनाएर खोप अभियान सञ्चालन गरिहेको महाशाखाले जनाएको छ ।
‘सबै स्थानीय तहलाई कति खोपको आवश्यकता अनुसारको विवरण टिपाउनको लागि अनुरोध गरेका छौं’, लालले भने, ‘त्यसैको आधारमा केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्र समवन्य गरेर खोप उपलब्ध गराइरहेका छौं ।’ राष्ट्रिय खोप सल्लाहकार समितिको पछिल्लो सिफारिस अनुसार नै फाइजर खोप सञ्चालन गरिएको डा. लालले बताए ।
‘फाइजर खोपले अहिलेसम्मको भेरियन्टको लागि प्रभावकारी मानिएको छ । अहिले नयाँ खोप विकसित भएको अवस्था छैन’, डा. लाल भन्छन्, ‘खोप पनि उपलब्ध भएको र बाहिर देशमा पनि संक्रमण बढेको हुनाले खोप सल्लाकार समितिले सिफारिसमा खोप अभियान सञ्चालन गरिएको हो ।’