ट्रेन्डिङ

बाराबाट ५ लाख ५५ हजार मूल्यका बिल बिजकभन्दा बढीका सामान पक्राउ

बीरगन्ज । बारा प्रहरीले भन्सार छली ल्याइएका सामान पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । प्रहरीले जिल्लाका फरकफरक स्थानहरुबाट ५ लाख ५५ हजार ८८५ मूल्य बराबरका सामान पक्राउ गरि आवश्यक कारबाही अघि बढाएको हो ।

प्रहरीले चलाएको जाँच अभियानका क्रममा बिल बिजक भन्दा बढी र बिल भरपाइ नभएका सामान नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बाट दुुइ लाख ८० हजार मूल्य बराबरका १४० पिस ‘एयरबर्डस्’ बरामद गरेको जनाएको छ । गौरबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ७ ख ९१४१ नम्बरको यात्रुवाहक बसबाट उक्त मूल्यका एयरबर्डस् बरामद गरेको प्रहरीको भनाइ छ ।

यसैगरी जीतपुरसिमरा–१ पथलैया चोकबाट ल्वाङ १ बोरा, धनिँया १८ बोरा, मेथी २ बोरा, जिरा ८ बोरा, खुर्सानी ६ बोरा, मोनो सोडियम ग्लुटेमेट १० बोरा बरामद भएको छ ।

प्रहरी चौकी पथलैयाको टोलीले बीरगन्जबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ६०७० नम्बरको बसमा लोड रहेको अवस्थामा दुइ लाख ७५ हजार ८८५ रुपँया बराबरका ती सामान नियन्त्रणमा लिएको जनायो ।

बरामद सामानहरु आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै