वीरगन्ज । जेनजी पुस्ताको आन्दोलनबाट उत्पन्न भएको वर्तमान संकट समाधानका लागि ६५ वटा नागरिक समाजका संस्था र अभियानीहरूले एक संयुक्त विज्ञप्ति जारी गरेका छन्।
उनीहरूले संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न र विधिको शासन लागू गर्न सबै सरोकारवालालाई अपिल गरेका छन्।
बिहीबार जारी गरिएको विज्ञप्तिमा नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै अहिलेको परिवर्तनको मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ। जेनजी पुस्ताका भावनालाई समेत समेटेर अगाडि बढ्नुपर्ने उनीहरूको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको अवस्थामा वार्ता, संवाद र छलफल गर्न नागरिक समाजले सहजीकरण गर्नेछ।’
विज्ञप्तिमा वर्तमान राजनीतिक संकटले आन्तरिक द्वन्द्व बढाउने र अन्तर्राष्ट्रिय हस्तक्षेप निम्त्याउन सक्ने भन्दै सबै पक्षलाई सचेत गराइएको छ। यो अपिलले देशलाई थप अस्थिरताबाट जोगाउन र संवैधानिक बाटोबाट शान्तिपूर्ण समाधान खोज्न जोड दिएको छ।