वीरगन्ज । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन्।
यो घटना नख्खु कारागारबाट निस्किएका कैदीबन्दीहरूले राति तोडफोड गरेपछि भएको हो।
फरार हुनेहरूमध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि रहेको स्रोतले जनाएको छ। उनी भद्र बन्दीगृहमा रहेका थिए।
सुरक्षा स्रोतका अनुसार, राति करिब १० बजे नख्खुबाट आएका कैदीबन्दीहरूले केन्द्रीय कारागारमा तोडफोड सुरु गरेपछि त्यहाँ खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीहरू भागेर सैनिक मुख्यालय पुगेका थिए। त्यसपछि मात्रै नेपाली सेना कारागार पुगेको थियो। त्यतिन्जेलसम्म करिब ३३ सय कैदीबन्दी फरार भइसकेका थिए।
कारागारमा रहेका ३८ सय कैदीबन्दीमध्ये अहिले करिब ५ सयको हाराहारीमा मात्रै छन्। जसमध्ये भद्र बन्दीगृहमा १००, महिला बन्दीगृहमा १०० र सेन्ट्रल कारागारमा करिब ३०० कैदी रहेका छन्।
फरार भएका कैदीबन्दीमध्ये केही भने कारागार फर्कन थालेका छन्। अहिलेसम्म करिब ५० जना कैदीबन्दी फर्किसकेको र अझै केही फर्कने क्रममा रहेको बताइएको छ।