ट्रेन्डिङ

जेन–जीको आन्दोलनमा १८ जनाको मृत्यु, २ सय ५६ घाइते

वीरगन्ज । सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्ध र शासकीय व्यवस्थाविरुद्ध जेनजी युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि मृतकको संख्या १८ पुगेको छ भने २ सय ५६ जना घाइते भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार, मृतकहरूमध्ये १६ जनाको काठमाडौंमा र २ जनाको इटहरीमा मृत्यु भएको हो।

आज बिहानैबाट काठमाडौं लगायत देशभरका प्रमुख सहरहरूमा सुरु भएको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको छ। संघीय संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि नयाँबानेश्वर क्षेत्रमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। यद्यपि काठमाडौंमा कर्फ्यु जारी रहँदा पनि प्रदर्शनकारीहरूले सडक छोडेका छैनन्।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा ठूलो संख्यामा घाइतेहरूको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको र ४९ जना घाइतेको उपचार भइरहेको छ, जहाँ ‘आपत्कालीन विपद् योजना’ लागू गरिएको छ। त्यसैगरी, सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको र सय जना घाइतेको उपचार भइरहेको छ। केएमसी अस्पतालमा २ जनाको मृत्यु भएको र ३२ जना घाइते छन्। एभरेष्ट अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र उपत्यकाबाहिर इटहरीमा २ जनाको मृत्यु भएको छ।

पोखरा, झापा, मोरङ र दमक लगायतका जिल्लाहरूमा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप जारी छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै