वीरगन्ज । लामो समयदेखि विचाराधीन रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको अन्तिम सुनुवाइ बुधबारदेखि जिल्ला अदालत काठमाडौँमा सुरु हुने भएको छ।
करिब दुई वर्षदेखि अदालती प्रक्रियामा रहेको यो बहुचर्चित मुद्दाले अब निर्णायक मोड लिने तयारीमा रहेको छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनासम्बन्धी ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधका कसुरमा ३० जनाभन्दा बढी अभियुक्तविरुद्ध २०८० जेठ १० मा मुद्दा दायर गरिएको थियो। यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, पूर्व गृहसचिव, सांसद लगायत उच्च पदस्थ व्यक्तिहरू समेत आरोपित छन्।
मुद्दा दायर भएयता यसले पर्याप्त प्राथमिकता नपाएको आरोप लाग्दै आएको थियो। २०८० र २०८१ मा पेसी कम चढे पनि २०८२ वैशाखयता भने यसले निरन्तर प्राथमिकता पाएको छ। पछिल्लो समयमा साक्षी बुझ्ने र बकपत्र लिने काम सकिएपछि अदालतले यो मुद्दालाई साप्ताहिक पेसी सूचीमा राखेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले यो मुद्दा दायर गरेको थियो। सुरुमा ३० जना, पछि थप ५ जना र एक जना गरी ३६ जना अभियुक्तविरुद्ध मुद्दा दायर गरिएको छ।
यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायतका उच्च पदस्थ व्यक्तिहरू मुख्य अभियुक्तका रूपमा रहेका छन्। यस्तै, अन्य अभियुक्तहरूमा विभिन्न बिचौलिया तथा राजनीतिक र सुरक्षा क्षेत्रका व्यक्तिहरू समेत संलग्न छन्।
जिल्ला अदालतको आदेशमा केही अभियुक्तहरू अहिले पनि थुनामा छन् भने केही उच्च अदालतबाट धरौटी वा तारेखमा छुटेका छन्।