वीरगन्ज । वीरगन्जमा हैजा संक्रमितहरुको संख्या घट्दो छ । महानगरमा देखिएको झाडापखाला तथा हैजा संक्रमितहरुको संख्या ओरालो क्रममा रहेको पाइएको छ ।
वीरगन्ज महानगरपालिकाले आज विहान सार्वजनिक गरेको झाडापखाला तथा हैजा संक्रमितहरुको नयाँ केश २३ वटा रहेको पाइएको छ । मंगलबार विहानसम्म वीरगन्जका विभिन्न अस्पतालमा गरी २३ झाडापखाला तथा शंकास्पद हैजा संक्रमित विरामीहरु भर्ना भएका छन् ।
महानगरका क्षेत्रमा अहिलेसम्म ८९९ जना झाडापखाला तथा शंकास्पद हैजाको संक्रमित भएको आँकडा छ । जसमध्ये ७९१ ज्ना निको भएर घर फर्किसकेको महानगरपालिकाको तथ्यांक छ ।
झाडापखाला तथा शंकास्पद हैजाका १०८ जना विरामीहरु महानगरको विभिन्न अस्पतालमा उपचाररत रहेको महानगरको विवरणमा देखिएको छ ।
हैजा संक्रमण फैलिएको १२ औं दिनसम्ममा महानगरका क्षेत्रमा १७६ जनामा कोलेर (हैजा) पुष्टि भइसकेको वीरगन्ज महानगरपालिकाको आँकडा छ ।
जसमध्ये १६२ जना निको भएर घर फर्किसकेको जनाइएको छ । १४ जना हैजा पुष्टि भइसकेका विरामी भने अझै विभिन्न अस्पतालमा उपचाररत रहेको महानगरपालिकाले सार्वजनिक गरेको तथ्यांकमा भनिएको छ ।