वीरगन्ज । नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
यससँगै दुई दशकभन्दा लामो समयदेखिको प्रयासले सार्थकता पाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीका अनुसार यो सम्झौताले साउदी अरेबियामा रहेका लाखौँ नेपाली श्रमिकको हित सुनिश्चित गर्नेछ।
यो सम्झौताले नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त अनुसारका अधिकार र ‘इम्प्लोयर पे पोलिसी अनुसारको सुविधा दिलाउनेछ। मन्त्री भण्डारीले आगामी दिनमा गरिने सबै श्रम सम्झौतामा नेपाली श्रमिकको आवश्यकता र मानव अधिकारलाई प्राथमिकता दिइने बताएका छन्।
श्रम सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारीमा जाने नेपालीको उचित संरक्षण र श्रम शोषणको विषयमा सरकार गम्भीर रहेको बताएका छन्। उनले श्रम शोषण र मानव अधिकार उल्लंघनका विषयमा सरकारले ‘शून्य सहनशीलता’को नीति अपनाएको जानकारी दिए।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले यस कदमको स्वागत गर्दै अन्य मुलुकहरूसँग पनि यस्ता सम्झौता गर्न सुझाव दिएका छन्। श्रम विज्ञ युवराज बस्नेतले यो सम्झौताले नेपाली श्रमिकलाई साउदी भूमिमा सामाजिक सुरक्षा प्रदान गर्न मद्दत गर्ने बताए।
सन् २०३४ मा हुने फिफा विश्वकपको तयारीका लागि साउदीले आफ्नो श्रम नीतिमा व्यापक सुधार गर्दै आएको छ। सन् २०२१ मा ‘कफाला प्रणाली’मा सुधार गर्दै विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सुनिश्चित गरेको थियो।