वीरगन्ज । अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ।
प्रारम्भिक जानकारीअनुसार कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नंगरहार र कुनार प्रान्तका विभिन्न अस्पतालमा भर्ना गरिएको छ।
नेपाली समयअनुसार राति १ बजेर दुई मिनेटमा जलालाबाद नजिक केन्द्रबिन्दु भएर गएको यो भूकम्पले अफगानिस्तानका दुर्गम र पहाडी इलाकामा बढी क्षति पुर्याएको छ। स्थनीय मिडियाले जनाए अनुसार भूकम्पबाट २५० जनाको मृत्यु र ५०० जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनबाट १६० किलोमिटर तल थियो। यसको धक्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो।
पहिलो शक्तिशाली धक्कापछि लगातार ४.७, ४.३ र ५.० म्याग्निच्युडका परकम्पहरू गएका थिए। भूकम्प प्रभावित क्षेत्रका घरहरू सामान्यतया भूकम्प प्रतिरोधी नभएकोले मानवीय क्षति बढी भएको अनुमान गरिएको छ।
तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार र राहत कार्यका लागि सहायता संगठनहरूसँग सहयोगको अपील गरेका छन्।
गत वर्ष अक्टोबर ७, २०२३ मा पनि अफगानिस्तानमा विनाशकारी भूकम्प गएको थियो। सो भूकम्पमा सरकारको तथ्यांकअनुसार ४ हजार जनाको मृत्यु भएको थियो भने संयुक्त राष्ट्रसंघले १,५०० जनाको मृत्यु पुष्टि गरेको थियो।
यसपटक राजधानी काबुलबाट १०० माइलभन्दा कम दूरीमा रहेको जलालाबादमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।