वीरगन्ज । परीक्षाको तयारी नपुगेपछि परीक्षा सार्नका लागि राजधानीमा बमको हल्ला चलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै महोत्तरीका जयरुद्र झालाई पक्राउ गरेको जनाएको हो।
झाले भदौ १३ गते प्रहरीको १०० नम्बरमा फोन गरेर काठमाडौंका विभिन्न शैक्षिक संस्थाहरूमा बम राखिएको र दिउँसो ४ बजेसम्ममा विस्फोट हुने भन्दै झूटो सूचना दिएका थिए। उनको यो फोनले उपत्यकामा ठूलो त्रास फैलिएको थियो।
प्रहरीका अनुसार, झा आफैं कुलेश्वरस्थित जनमैत्री माविमा सञ्चालित स्नातकोत्तर तहको परीक्षाका परीक्षार्थी थिए। पर्याप्त तयारी नगरेका कारण परीक्षा सार्ने उद्देश्यले उनले यस्तो झूटो सूचना दिएको प्रहरीले जनाएको छ। उनी सेरामिक्स टायल्स कम्पनीमा बैंक प्रतिनिधिको रूपमा कार्यरत छन्।
प्रहरीका प्रवक्ता एसपी काजीकुमार आचार्यले झालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिए।