जनकपुरधाम । आगामी चाडपर्वहरू नजिकिँदै गर्दा तराईका सीमावर्ती जिल्लाहरूमा तस्करीको गतिविधि बढेको पाइएको छ।
यसै सन्दर्भमा, तस्करीमा संलग्न रहेको आरोप लागेपछि सशस्त्र प्रहरी बलले उच्च पदका अधिकारीहरूमाथि कारबाही सुरु गरेको छ। आइतबार मात्रै एक एसपीसहित १६ जना कमान्डरलाई उनीहरूको जिम्मेवारीबाट हटाएर छानबिन प्रक्रिया अगाडि बढाइएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएअनुसार, रौतहट गणका गणपति एसपी सन्तोषकुमार बस्नेतमाथि चिनी तस्करीको आरोप लागेको छ। एक गोदाममा छापा मारेर नियन्त्रणमा लिएको चिनी नै गायब बनाएको भन्दै उनलाई फिर्ता बोलाइएको छ। यसैगरी, बारा र पर्सा जिल्लाका विभिन्न सीमा सुरक्षा पोष्टहरूमा कार्यरत निरीक्षकदेखि सईसम्मका नौ जनालाई पनि हटाइएको छ।
यसैगरी, पश्चिम नवलपरासी, कैलाली र कञ्चनपुरका गरी अन्य ६ जना अधिकारीहरूलाई पनि जिम्मेवारीबाट हटाइएको छ। सशस्त्र प्रहरी मुख्यालयले अहिले सीमा क्षेत्रका कमान्डरहरूमाथि विशेष निगरानी बढाइएको जनाएको छ।
प्रहरी स्रोतका अनुसार, पछिल्लो समय राजनीतिक पहुँचका आधारमा सीमा क्षेत्रमा खटिएका केही अधिकारीहरूले तस्करहरूसँग मिलेर संस्थागत रूपमा तस्करी गराएको आरोप लागेको छ। यस घटनामा नेपाल प्रहरीका अधिकारीको समेत संलग्नता रहेको भनिए पनि उनीहरूमाथि भने हालसम्म कुनै कारबाही भएको छैन।