धनुषा । असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट मधेस प्रदेशमा ५ अर्ब रुपैँया भन्दा बढीको क्षति भएको छ ।
पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार गरि प्रदेशमा पाँच अर्ब ३३ करोड ७५ लाख मूल्य बराबरको क्षति भएको तथ्यांकले देखाएको छ ।
अन्न भण्डारका रूपमा परिचित मधेसका धानखेत डुबेका छन् । बाला लागेको धान डुब्दा किसान चिन्तित छन् । माछा पोखरी डुब्दा करोडौँको क्षति भएको कृषि विज्ञहरूले बताएका छन् ।
मङ्गलबारसम्मको प्रारम्भिक विवरणानुसार विपद्बाट धान बालीमा ठूलो क्षति भएको मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविद् महानन्द जोशीले जानकारी दिए । कृषि अर्थविद् जोशीका अनुसार मधेस प्रदेशको धानखेती तहसनहस भएको छ ।
कुन जिल्लामा कति क्षति ?
प्रदेशका ८ वटै जिल्लामा प्राकृतिक विपत्का कारण नोक्सानी खेप्नु परेको छ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा धान बाली नष्ट भएको मधेस प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।
प्रदेशका आठ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणानुसार ४२ हजार ६९ हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको अनुमान छ ।
यसैगरी चार हजार तीन सय ९३ हेक्टरमा लगाइएको सागसब्जी नष्ट हुँदा एक करोड ३२ लाख, २२ हेक्टर क्षेत्रमा लगाइएको फलफूलमा क्षति हुँदा ४४ लाख र ८५ हेक्टरको उखुमा क्षति पुग्दा तीन करोड ४० लाखको क्षति भएको अनुमान गरिएको छ ।
निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार दुई हजार तीन सय हेक्टर क्षेत्रमा मत्स्यपालन प्रभावित हुँदा २३ करोडको क्षति अनुमान गरिएको जनाए । डुबानका कारण १४ हजार दुई सय पाँचवटा पशुपक्षी मर्दा ७६ लाख बराबरको क्षति भएको छ ।
कृषि विकास निर्देशनालयका अनुसार मधेसका आठ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धान बालीमा क्षति भएको छ । रौतहटमा १० हजार दुई सय ४३ हेक्टरको धान बाली प्रभावित हुँदा एक अर्ब २२ करोड ९१ लाख ५० हजार, सप्तरीमा नौ हजार तीन सय ६७ हेक्टरको धान बाली नोक्सान हुँदा एक अर्ब २२ करोड ४० लाख ४० हजार रुपैँया बराबरको क्षति भएको छ ।
यस्तै पर्सामा ४ हजार २८६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली प्रभावित हुँदा ५१ करोड ४३ लाख २० हजार, बारामा ६ हजार चार सय ७२ हेक्टर क्षेत्रमा लगाइएको धान बालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजारको क्षति भएको छ ।
यसैगरी सर्लाहीमा छ हजार पाँच सय ८४ हेक्टर क्षेत्रको धान बाली क्षति हुँदा रु ६९ करोड, सिराहामा १५८.६ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको छ । पशुपक्षीमा सबैभन्दा बढी पशुधन नाश सर्लाहीमा भएको छ ।
मधेसमा १४ हजार दुई सय पाँच पशुपक्षी मरेका छन् । भने सर्लाही मात्र १० हजार पशुपक्षी नष्ट भएका छन् । धनुषामा सात सय हेक्टर बालीमा क्षति भएको छ ।