वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रियालाई तीव्रता दिएको छ।
उम्मेदवारको दौडमा रहेका ९ जना आकांक्षीहरूले आज नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।
पार्टीका आन्तरिक स्रोतहरूका अनुसार, यी ९ जनामध्येबाट प्राथमिक निर्वाचनको मत परिणामका आधारमा एक जनालाई आधिकारिक उम्मेदवारका रूपमा घोषणा गरिनेछ।
आज उम्मेदवारका आकांक्षीहरू रवि लामिछानेलाई नख्खु कारागारमा भेटेपछि, दिउँसो १ः३० बजे पार्टीको केन्द्रीय सचिवालयको बैठक बस्ने र सोही बैठकले अन्तिम निर्णय गरी रुपन्देही–३ को उपनिर्वाचनका लागि पार्टीको उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी रहेको छ।