ट्रेन्डिङ

हैजा नियन्त्रणका लागि पर्सामा नेपाली सेना पनि खटाइने तयारी : गृहमन्त्री लेखक

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहितका स्वास्थ्य जनशक्ति खटाउने तयारी गरिएको बताएका छन् ।

शनिबार अबेर राति वीरगन्जस्थित नारायणी अस्पतालमा हैजा र झाडापखालाका विरामीहरुसँग भेटघाटपछि आयोजित ब्रिफिङ कार्यक्रममा गृहमन्त्री लेखकले महामारी नियन्त्रणमा सरकारले सबै प्रयास गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘नागरिकको जीवन बचाउन सरकारले कुनै कमी गर्न दिने छैन । आवश्यक औषधि, जनशक्ति र स्रोतसाधन तुरुन्त उपलब्ध गराइनेछ ।’

सुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाइने जानकारी उनले दिए । “थप जनशक्ति खाँचो परे तत्काल पठाइन्छ,” गृहमन्त्रीले अस्पताल प्रशासनलाई आश्वस्त पार्दै भने ।
उनले भने, ‘नागरिकको जीवन बचाउँनका लागि कुनै पनि कमी छ भन्ने त्यो भन्नुस, त्यही जानकारी लिनका लागि अस्पतालको निरीक्षण गर्न आएको हुँ । तर हैजा पूर्णरुपमा नियन्त्रित हुनुपर्छ ।’

सरकारले रोग नियन्त्रण गर्नका लागि जनताको जीवन रक्षा गर्नुपर्ने सबै काम गर्न मन्त्रीपरिषद्ले निर्णयसमेत गरिसकेको उनको भनाइ छ । गृहमन्त्री लेखकले अस्पतालका इमरजेन्सी, आइसियु र जेनरल वार्डमा उपचाररत विरामीसँग उपचारको अवस्था, निःशुल्क औषधि उपलब्धताबारे सोधपुछ पनि गरे ।

भेटघाटमा कानुन मन्त्री अजयकुमार चौरसिया, खानेपानी मन्त्री प्रदीप यादव, मधेस प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, प्रदेश सांसद श्याम पटेल र पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलासहित अन्य अधिकारीहरूको सहभागिता थियो ।

नारायणी अस्पतालका मेसु चुमनलाल दासका अनुसार, संक्रमण देखिएको नौ दिनसम्ममा अस्पतालमा ३६८ जना भर्ना भएका छन् । तीमध्ये ३१२ जना निको भई घर फर्किसकेका छन् भने ५६ जना अहिले उपचाररत छन् । आइसियुमा रहेका पाँचमध्ये तीन जनालाई शनिबार मात्रै डायलासिस गरिएको उनले जानकारी दिए ।

गृहमन्त्री लेखकले विज्ञहरुसँगको सल्लाहअनुसार हैजा फैलनुका मूल कारण पहिचान गरी स्थायी समाधानतर्फ काम गर्न जरुरी रहेको बताए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै