वीरगन्ज । पर्सा जिल्लामा हैजा संक्रमितहरु निको भएर घर फर्किनेहरुको संख्या पनि बढोत्तरी छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सार्वजनिक गरेको विवरणमा निको भएर घर फर्किनेहरुको संख्या बढेको पाइएको छ ।
गएको ९ दिनमा झाडा पखाला तथा हैजाबाट संक्रमितहरु निको भएर घर जानेको संख्या पनि पाँच सय नाघेको छ । जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार अहिलेसम्म ५१७ जन विरामी निको भएर घर फर्किएका छन् ।
झाडा पखाला तथा हैजाको शंकास्पद विरामी भइ उपचार गराउनेहरुमध्ये आधी भन्दा बढी विरामी निको भएर घर फर्किएको जनस्वास्थय कार्यालयको तथ्यांकले देखाइरहेको छ । पर्सा जिल्लामा अहिलेसम्म झाडा पखाला तथा हैजाको शंकास्पद विरामी कुल ७१२ जना देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
पर्सामा संक्रमण देखिएको ९ औं दिनसम्ममा कुल १६२ जनामा हैजा पुष्टि भएको जनस्वास्थ्य कार्यालयको आँँकडा छ । वीरगन्जका विभिन्न अस्पतालमाहरुमा गरी ३३ जना आइसियु, ४ जना एचडियु र १५८ जनाको जेनरल वार्डमा उपचार भइरहेको छ ।
हैजा पुष्टि भएका १०१ जना घर फर्किएको जनस्वास्थ्यका अधिकृत ठाकुर बताउँछन् । उनका अनुसार अहिले अस्पतालमा भने हैजा पुष्टि भएका ६२ जना विरामी उपचार गराइरहेका छन् ।
सबै उपचार निःशुल्क गर्न भनेपछि अहिले नारायणी अस्पतालमा भर्ना हुने विरामीको संख्या बढेको अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले बताए । औषधीसहित सबै निःशुल्क पाउने भएपछि अस्पतालमा विरामी बढी भर्ना हुन थालेका हुन ।
स्वास्थ्य कार्यालयका अनुसार साउन २८ गतेदेखि तराई अस्पतालमा झाडापखालाका केस देखिन थालेका थिए । भदौ ५ गते पहिलो पटक हैजाको केस पुष्टि भएपछि संघीय तथा प्रदेश सरकार, स्थानीय तह, स्वास्थ्य संस्थान र अन्तर्राष्ट्रिय सहयोगी निकायको समन्वयमा नियन्त्रण तथा जनचेतनामूलक अभियान सुरु गरिएको हो ।