प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

वीरगन्ज । सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भाद्र १९ गतेदेखि लागू हुने गरी उनलाई प्रहरीको ३२औं प्रमुखमा नियुक्त गरेको हो। वर्तमान आईजीपी दीपक थापाले भाद्र १८ गते रातिदेखि अवकाश पाउँदै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले उनको अनुपस्थितिमा प्रहरी नेतृत्व रिक्त नहोस् भन्नका लागि सरकारले चाँडै नै यो निर्णय लिएको हो।

आईजीपी खापुङको नियुक्ति यात्रा निकै रोचक रहेको छ। उनी र निवर्तमान आईजीपी थापाले एउटै समयमा प्रहरी इन्स्पेक्टरका लागि फारम भरे पनि उनीहरूको नियुक्ति भने फरक समयमा भएको थियो। त्यो ब्याचका इन्स्पेक्टरहरूलाई तीन चरणमा नियुक्ति दिइएको थियो। पहिलो चरणमा नियुक्ति पाएकामध्ये बसन्तबहादुर कुँवर यसअघि नै आईजीपी बनिसकेका थिए ।

त्यसपछि दोस्रो चरणका दीपक थापाले आईजीपीको जिम्मेवारी सम्हालेर अब अवकाशमा जाँदै छन् । यसरी खापुङ तेस्रो चरणका इन्स्पेक्टरहरूमध्येबाट एक्लै आईजीपी पदमा पुग्न सफल भएका छन् । उनीसँगै तेस्रो चरणमा नियुक्त भएका अन्य एआईजीहरू उमेर हदका कारण अवकाशमा गइसकेका छन् वा जाने क्रममा छन्।

हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारीमा रहेका खापुङलाई एक कुशल अनुसन्धानकर्ता र प्रशासकका रूपमा लिइन्छ। यद्यपि, उनको कार्यकाल छोटो हुन सक्छ। यदि नयाँ प्रहरी ऐन जारी भएन भने उहाँ आगामी कार्तिक २६ गतेबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । यदि नयाँ ऐन आयो भने उनको कार्यकाल थप ६ महिना लम्बिइने सम्भावना रहेको छ। छोटो समयका लागि भए पनि उनलाई प्रहरी संगठनमा सुधार ल्याउनु र सुशासन कायम गर्नु प्रमुख चुनौती हुनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै