वीरगन्ज । निजी विद्यालयका छाता संगठनहरूले आफ्ना माग पूरा नभए भदौ १८ गतेदेखि देशभरका निजी विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन्।
विद्यालय शिक्षा विधेयकको विरोधमा लगातार आन्दोलनरत प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले आफ्ना आन्दोलनका कार्यक्रमलाई थप चर्काउने निर्णय गरेका छन्।
सञ्चालकहरूले विधेयकबाट गैरनाफामूलक र पूर्ण छात्रवृत्तिको प्रावधान हटाउन माग गरेका छन्। उनीहरूले आफ्नो पहिलो चरणको आन्दोलन आजबाट सकिएको र अब दोस्रो चरणका कार्यक्रमहरू घोषणा गरेको बताएका छन्।
घोषित कार्यक्रमअनुसार, भदौ १२ गते हरेक जिल्ला सदरमुकाममा र्यालीसहित बृहत खबरदारी सभा गरिनेछ। त्यसैगरी, भदौ १६ गते देशैभरिका स्कूल बसहरूमा कालो झण्डा र ब्यानर राखेर नगर परिक्रमा गरिनेछ। काठमाडौं उपत्यकामा २७ किलोमिटर चक्रपथ वरिपरि र अन्य जिल्लाहरूमा प्रतिघण्टा २० किलोमिटरको गतिमा भव्य र्याली निकालिनेछ।
यदि भदौ १८ गतेसम्म पनि मागको सुनुवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने जस्तो कडा कदम चालिने निजी विद्यालय सञ्चालकहरूको भनाइ छ। यसले गर्दा हजारौं विद्यार्थीको पठनपाठनमा असर पर्ने देखिएको छ।