रास्वपाका नेता अरनिको पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरनिको पाँडेलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

एक महिलालाई सामाजिक सञ्जालमार्फत आपत्तिजनक सन्देश पठाएको आरोपमा बुधबार पक्राउ परेका पाँडेलाई अदालतले चार दिन म्याद थप गरी थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

नेपाल प्रहरीको साइबर ब्युरोमा एक महिलाले जाहेरी दिएपछि पाँडेलाई नियन्त्रणमा लिइएको थियो। प्रहरीका अनुसार, पाँडेले ती महिलालाई ह्वाट्सएप र मेलमा पठाएका सन्देशहरू अश्लील तथा आपत्तिजनक पाइएका छन्। उनीमाथि विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अन्तर्गत अनुसन्धान भइरहेको छ।

यता, पाँडे निकटका रास्वपाका कार्यकर्ताहरूले भने यो पक्राउलाई राजनीतिक प्रतिशोध भनेका छन्। उनीहरूको दाबीअनुसार, ती महिलाले बारम्बार सन्देश पठाएर हैरान पारेपछि पाँडेले आक्रोशित हुँदै जवाफ मात्र दिएका थिए। सोही सन्देशलाई आधार बनाएर जाहेरी दिएको उनीहरूको तर्क छ।

वातावरणविद् पाँडे २०७९ सालमा रास्वपामा प्रवेश गरेका थिए र पार्टी सरकारमा हुँदा राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए। प्रहरीले अहिले पाँडेलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै