वीरगन्ज । तस्करीमार्फत भित्र्याइएको ५९४ बोरा चिनी गायब पारेको आरोपमा सशस्त्र प्रहरी बलका एसपीसहित तीन जना अधिकारीलाई हेडक्वार्टर तानिएको छ।
रौतहटको सशस्त्र प्रहरी बल ११ नम्बर गणका गणपति तथा एसपी सन्तोष बस्नेत र डीएसपी राजेन्द्रबहादुर बस्नेतलाई थप छानबिनका लागि हल्चोकस्थित हेडक्वार्टरमा बोलाइएको हो।
यो प्रकरणमा यसअघि नै डीएसपी अमर लामालाई पनि हेडक्वार्टर तानिएको थियो। रौतहटमा तस्करीको चिनी भण्डारण गरिएको सूचना पाएपछि डीएसपी लामा नेतृत्वको टोलीले छापा मारेको थियो। छापा मार्ने क्रममा ७०० बोराभन्दा बढी चिनी भण्डारण गरिएको भिडिओ सूचना आए पनि जम्मा १०६ बोरा मात्र बरामद गरी भन्सारमा बुझाइएको थियो। बाँकी करिब ६०० बोरा चिनी गायब भएपछि यो प्रकरण बाहिर आएको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार यस घटनामा संलग्न भएको आरोपमा तीन जना उच्च अधिकारीसहित करिब २० जनामाथि आन्तरिक छानबिन भइरहेको छ। दोषी देखिए उनीहरूको भूमिकाअनुसार कारबाही गरिने उनले बताए। यसअघि केही अधिकारीलाई सचेत मात्र गराइएको भए पनि थप प्रमाण भेटिएपछि हेडक्वार्टर झिकाएर छानबिन प्रक्रिया अघि बढाइएको हो।