वीरगन्ज । वीरगन्ज महानगरपालिकालगायत पर्सा जिल्लामा हैजाको प्रकोप फैलिएपछि बाराको फेटा गाउँपालिकाले पनि आफ्ना बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
वीरगन्जसँग सीमा जोडिएको यस गाउँपालिकामा रोग फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै गाउँपालिका कार्यालयले सम्पूर्ण गाउँवासीहरूलाई सचेत गराएको हो।
गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले हैजाबाट बच्नका लागि व्यक्तिगत र संस्थागत दुवै स्तरबाट विशेष ध्यान दिनुपर्न आग्रह गरेका छन् । व्यक्तिगत रूपमा सुरक्षित खानेपानीको प्रयोग गर्ने, खाना खानुअघि र दिसापछि साबुन पानीले हात धुने, खानालाई राम्ररी पकाएर र छोपेर मात्र राख्ने तथा सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् । त्यसैगरी, संस्थागत रूपमा पनि सुरक्षित खानेपानीको आपूर्ति सुनिश्चित गर्न र सरसफाइमा ध्यान दिन अनुरोध गरिएको छ।
हैजा दूषित पानी र खानाबाट सर्ने भएकाले बासी, सडेगलेका खानेकुराहरू नखान र काँचै खाने फलफूल तथा तरकारीलाई राम्ररी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न भन्दै गाउँपालिकाको घर–घरमा पुगेर स्वास्थ्यकर्मीहरुले सुझाव दिइरहेका छन् । हैजाका लक्षणहरू, जस्तै कडा पखाला र बान्ता, देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न र प्रशस्त मात्रामा जीवनजलको सेवन गर्न पनि आग्रह गरिएको छ। यसले शरीरमा जलवियोजन हुनबाट जोगाउन मद्दत गर्छ।
गर्मी र वर्षायाममा झाडापखाला, हैजाजस्ता पानीजन्य रोगहरू फैलने सम्भावना बढी हुने भएकाले सबै नागरिकलाई व्यक्तिगत सरसफाइका नियमहरू पालना गर्न र सतर्कता अपनाउन गाउँपालिका अध्यक्ष अन्सारीले आग्रह गरेका छन् ।