वीरगन्ज । भारतको बिहार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंककारी भारत प्रवेश गरेको सूचनापछि भारतीय सुरक्षा निकायले ‘हाई अलर्ट’ जारी गरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार, जैश–ए–मोहम्मद समूहका तीन पाकिस्तानी नागरिक हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नेपालको बाटो हुँदै भारतको बिहारमा प्रवेश गरेको आशंका गरिएको छ। उनीहरू कहिले र कुन नाकाबाट प्रवेश गरे भन्नेबारे भने समाचारमा स्पष्ट उल्लेख छैन।
यो खबर बाहिरिएपछि भारतीय प्रहरी मुख्यालयले सम्पूर्ण सुरक्षाकर्मीलाई सतर्क रहन निर्देशन दिँदै गुप्तचर निकायलाई पनि परिचालन गरेको छ। बिहारका खासगरी सीतामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौललगायतका सीमावर्ती जिल्लाहरूमा विशेष निगरानी बढाइएको छ।
प्रहरीले ती तीन जनाको हुलियासहितको विवरण सबै युनिटहरूमा पठाएको छ र शंकास्पद गतिविधि देखिएमा तत्काल खबर गर्न स्थानीय बासिन्दालाई पनि आह्वान गरेको छ। यसअघि सन् २०२४ मा पनि नेपाल हुँदै आतंककारी प्रवेश गरेको भन्दै तीन जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका थिए।