ट्रेन्डिङ

कलैयामा हैजा : वीरगन्जबाट आएका व्यक्तिमा संक्रमण पुष्टि

कलैया। वीरगन्ज महानगरपालिकामा फैलिएको हैजाको संक्रमणले अब बाराको कलैयामा पनि त्रास बढाएको छ।

हालै कलैया अस्पतालमा एक जनामा हैजा पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालयले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाराका प्रमुख रामनरेश यादवले संक्रमित व्यक्ति कलैयाको भए पनि उनी वीरगन्जमा काम गर्ने गरेको र त्यहीँबाट संक्रमण लिएर आएको जानकारी दिएका छन्। उनले अस्पतालमा हैजा पुष्टि हुने बित्तिकै स्वास्थ्यकर्मीको टोलीलाई ती व्यक्तिको घर र गाउँमा पठाएर अन्य मानिसमा कुनै लक्षण देखिएको छ कि छैन भनेर जाँच गराएको बताएका छन्। हालसम्म अन्य व्यक्तिमा संक्रमण नदेखिएको उनले बताएका छन्।

पछिल्लो समय कलैयामा हैजाको हल्ला व्यापक भए पनि जिल्ला स्वास्थ्य कार्यालयले कसैलाई पनि नडराउन अनुरोध गरेको छ। प्रमुख यादवले भने, ‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको खबरले कोही पनि डराउनु पर्दैन। आफू र आफ्नो परिवारको सरसफाइमा ध्यान दिने र नियमित क्रियाकलापमा गर्दा सावधानी अपनाउनुस् ।’

स्वास्थ्य कार्यालयका अनुसार, हैजा रोकथामको सबैभन्दा प्रभावकारी उपाय सुरक्षित पानी र सरसफाइ नै हो। त्यसैले, खानेपानी उमालेर वा पियुष हालेर मात्र पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन र वरपरको वातावरण सफा राख्न आग्रह गरिएको छ। स्वास्थ्यकर्मीहरूले घर–घरमा गएर सचेतना दिइरहेका छन्। साथै, स्वास्थ्य कार्यालयले बिरामीको उपचारका लागि आवश्यक औषधि र किटहरू पनि पर्याप्त मात्रामा स्टक रहेको र बिरामीको निःशुल्क जाँचको व्यवस्था मिलाइएको जनाएको छ।

अस्पतालमा बिरामीको संख्या बढेमा त्यसको व्यवस्थापनका लागि वीरगन्जसँग जोडिएका विश्रामपुर, पर्सौनी, फेटा र परवानीपुर जस्ता पालिकाहरू पनि तयारी अवस्थामा रहेको यादवले बताए।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै