वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ।
बुधबार न्यायाधीश सागर विष्टको इजलासले यो आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। लामिछानेले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा हुन पाऊँ भन्दै उच्च अदालतमा निवेदन दायर गरेका थिए।
यसअघि, उनले यही मागसहित रुपन्देही जिल्ला अदालतमा पनि निवेदन दिएका थिए। तर, जिल्ला अदालतले उनको माग बमोजिम आदेश दिन अस्वीकार गरेको थियो। जिल्ला अदालतको सो आदेशपछि उनी उच्च अदालत पुगेका हुन्।
अब जिल्ला अदालतबाट कैफियत प्रतिवेदन आएपछि मात्र उच्च अदालतमा मुद्दाको थप सुनुवाइ हुनेछ।