वीरगन्ज । गोरखाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामाले राजनीतिबाट सन्यास लिएको घोषणा गर्दै जर्मनी प्रस्थान गरेका छन्।
उनले फेसबुकमा एक भावुक स्टाटस लेख्दै आफूले गरेको कामको कहिल्यै कदर नभएको र आत्मसन्तुष्टि नमिलेको बताएका छन्। वडाध्यक्ष लामाले आफ्नो क्षमताअनुसार इमान्दारीपूर्वक काम गर्दा पनि कहिल्यै जस नपाएको भन्दै राजनीतिबाट सदाका लागि बिदा भएको घोषणा गरेका हुन्।
‘जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन। त्यसैले अब देखि यो राजनीतिबाट सदाको लागी बिदा भएको निर्णय सहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एक पटक शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्।
लामाले वडाको जिम्मेवारी वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक अध्यक्षको रूपमा हस्तान्तरण गरेको जानकारी गाउँपालिकामा पठाएको गाउँपालिकाका सूचना अधिकारी सन्दीप रेग्मीले बताएका छन्। उनी माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
रेग्मीका अनुसार, लामा फर्कने वा नफर्कने विषयमा कुनै जानकारी आएको छैन।