वीरगन्ज । प्रतिनिधिसभा अन्तर्गतको महत्त्वपूर्ण राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन्।
यसअघि संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेले आज बिहानै आफ्नो पदबाट राजीनामा दिएर नयाँ जिम्मेवारीका लागि उम्मेदवारी दिएकी थिइन्।
समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र न्यौपानेको मात्र एकल उम्मेदवारी परेको जानकारी प्रतिनिधिसभाका सचिव हर्कराज राईले दिएका छन्। यससँगै, उनको सभापति पदमा सर्वसम्मत हुने पक्का भएको छ।
राज्य व्यवस्था समितिको बैठक भोलि दिउँसो ३ बजे बस्दैछ, जहाँ न्यौपानेलाई औपचारिक रूपमा सभापतिमा निर्वाचित भएको घोषणा गरिनेछ।
पार्टीभित्रको आन्तरिक सहमतिअनुसार कांग्रेसले न्यौपानेलाई राज्य व्यवस्था समितिको नेतृत्व दिने भएपछि उनले संसदीय सुनुवाइ समितिको सभापति पदबाट राजीनामा दिएकी थिइन्।