वीरगन्ज । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को ज्यादती र सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको भन्दै कबाड व्यवसायीले आज दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन्।
भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शनले काठमाडौँ महानगरपालिकाको कार्यालयलाई घेराउ गरेको छ, जहाँ व्यवसायीहरूले बालेनविरुद्ध चर्को नाराबाजी गरेका छन्।

कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले बालेनको कार्यशैलीप्रति कडा प्रश्न उठाएका छन्। ‘म बालेनलाई प्रश्न गर्न चाहन्छु, के तिमी सर्वोच्च अदालतभन्दा माथि छौ ? के अदालतले दिएको आदेश तिमीले पालना गर्नुपर्दैन ?’ गुप्ताले आक्रोश व्यक्त गर्दै भने, ‘कानुनी शासनको कुरा गर्नेले कानुन मान्नुपर्छ कि पर्दैन ?’ उनले बालेनले अदालतको आदेश पालना गर्ने प्रतिबद्धता जनाएपछि मात्र आन्दोलन रोकिने चेतावनी दिएका छन्। ‘बालेनलाई घुँडा नटेकाएसम्म आन्दोलन जारी रहनेछ,’ गुप्ताले बताए।
आन्दोलनकारीहरूले ‘सर्वोच्च अदालतको आदेश पालना गर’, ‘कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर’, ‘बालेनको गुण्डागर्दी बन्द गर’ र ‘बालेन तेरो पाराले दुख पायो साराले’ जस्ता नारा लगाएका छन्।

व्यवसायीहरूले पाँचबुँदे माग अगाडि सारेका छन्। उनीहरूको मुख्य माग संविधानले दिएको पेसा व्यवसाय गर्ने हकको ग्यारेन्टी, महानगरबाट भइरहेको कुटपिट र संरचना भत्काउने कार्य तत्काल रोकिनुपर्ने, र ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कारबाही गरिनुपर्ने रहेको छ। साथै, उनीहरूले कबाड व्यवसायीको सुरक्षा सुनिश्चित गर्न सरकारको हस्तक्षेप र विगत दुई वर्षमा महानगर प्रहरीले पुर्याएको क्षतिको क्षतिपूर्ति माग गरेका छन्। माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूको भनाइ छ।