तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक स्थगित

वीरगन्ज । नेकपा एमालेको आगामी भदौ १३ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।

दोस्रो विधान महाधिवेशनको तयारीमा जुटिरहेको एमालेले तयारी नपुगेको कारण देखाउँदै बैठक स्थगन गरेको हो। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अर्को मिति चाँडै नै तय गरिने जानकारी दिएका छन्।

पार्टीको महत्त्वपूर्ण दोस्रो विधान महाधिवेशन नजिकिँदै गर्दा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयलाई लिएर पार्टीभित्र चर्को विवाद चलिरहेको बेला यो स्थगन भएको हो।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ। यस महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र २६४ जना आयोजक गरी कुल दुई हजार ३९२ जनाको सहभागिता रहने जनाइएको छ।

यसअघि, विधान संशोधन प्रस्तावबारे सुझाव संकलन गर्न मातहतका कमिटीलाई आजसम्मको समयसीमा दिइएको थियो। प्राप्त सुझावहरूलाई समेटेर पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेश गर्ने तयारी थियो। तर, बैठक स्थगित भएपछि यो प्रक्रियामा केही ढिलाइ हुने देखिएको छ।

पछिल्लो समय एमालेभित्र सबैभन्दा ठूलो विवाद पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणसँग जोडिएको छ। पार्टीले उनको सदस्यता नवीकरण नगरे पनि उनले आफू एमालेकै कार्यकर्ता भएको दाबी गर्दै थापागाउँमा सम्पर्क कार्यालय स्थापना गरेर राजनीतिक गतिविधि अगाडि बढाइरहेकी छन्। यस विषयमा पार्टीभित्र विभिन्न धारणा र मतभेद देखिएका छन्।

यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो। पार्टीको आन्तरिक तयारी र विवाद व्यवस्थापनमा कठिनाइ देखिएकै कारण बैठक स्थगित भएको हुन सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै