वीरगन्ज । वीरगन्जमा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि त्यसको अनुगमनमा आएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
उनले सरकारी अस्पताल मात्र नभई निजी अस्पतालहरूलाई पनि बिरामीको उपचारमा सहयोग गर्न आग्रह गरेका छन्।
मन्त्री पौडेलले सामाजिक सङ्घसंस्था, व्यापारी, व्यवसायी र सम्पूर्ण समाजलाई यस विपत्तिको घडीमा एकजुट भई काम गर्न अपिल गरे। उनले सरकार हैजाका बिरामीलाई सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै संक्रमण परीक्षण, उपचार र निःशुल्क औषधि वितरणमा कुनै पनि किसिमको लापरबाही नगर्न निर्देशन दिए।
यसअघि, मन्त्रीले नारायणी अस्पतालको अनुगमन गर्दै बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। सो क्रममा एक बिरामीका आफन्तले औषधिको पैसा तिर्नुपरेको गुनासो गर्दा उनले तत्काल छानबिन गरी समस्या समाधान गर्न निर्देशन दिएका थिए। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले सलाइन र इन्जेक्सन निःशुल्क भए पनि अन्य औषधिको शुल्क लाग्ने गरेको जानकारी दिएका थिए।
जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार, वीरगन्जमा हालसम्म १५१ जना हैजाका बिरामीहरू डिस्चार्ज भइसकेका छन् भने हाल १०३ जना विभिन्न अस्पतालमा उपचाररत छन्। ७९ जनामा आरडिटी किटमार्फत हैजा संक्रमण पुष्टि भएको छ।