ट्रेन्डिङ

शिक्षा विधेयकविरुद्ध मधेश प्रदेशमा निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

जनकपुरधाम । शिक्षा विधेयकको विरोधमा मधेश प्रदेशका निजी विद्यालय सञ्चालकहरूले आज प्रदेश सभा अगाडि ठूलो प्रदर्शन गरेका छन्।

प्याब्सन, एन–प्याब्सन र हिसानलगायतका संस्थाहरूको संयुक्त आयोजनामा भएको यो प्रदर्शनमा प्रदेशका आठै जिल्लाबाट सञ्चालकहरू सहभागी थिए।

निजी विद्यालय सञ्चालकहरूको भनाइ अनुसार, हालको शिक्षा विधेयकले निजी शैक्षिक संस्थाहरूको अस्तित्व नै जोखिममा पारेको छ। उनीहरूले विधेयकमा रहेका केही प्रावधानले विद्यालयहरूलाई बन्द गर्न बाध्य पार्ने खतरा रहेको औंल्याएका छन्। प्रदर्शनकारीहरूले विधेयकलाई तत्काल परिमार्जन गरी विद्यालयहरूको दिगोपन, शिक्षक–कर्मचारीको अधिकार र शैक्षिक गुणस्तरलाई सुनिश्चित गर्न माग गरेका छन्।

प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहको नेतृत्वमा भएको प्रदर्शनमा पर्सा जिल्लाबाट उल्लेख्य संख्यामा विद्यालय सञ्चालकहरू सहभागी थिए। पर्साबाट प्याब्सनका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, एन–प्याब्सनका सल्लाहकार प्रेम यादव र हिसानका अध्यक्ष मुकेश गुप्ता लगायतका पदाधिकारीहरूले प्रतिनिधित्व गरेका थिए।

यसअघि पनि निजी विद्यालय सञ्चालकहरूले आफ्ना माग पूरा गराउन जिल्ला प्रशासन, प्रदेश सरकार र संघीय राजधानीमा समेत श्रृंखलाबद्ध विरोध प्रदर्शन गर्दै आएका छन्। विधेयक संशोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै