वीरगन्ज । वीरगन्जमा सशस्त्र प्रहरी बलका ३५ जना जवानले ११ दिने ‘सेल्फ डिफेन्स’ (आत्मरक्षा) तालिम पूरा गरेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको आयोजना र वीरगन्ज तेक्वान्दो डोजांगको सहयोगमा साउन २८ देखि भदौ ८ गतेसम्म सञ्चालन भएको यो तालिम आइतबार एक समारोहका बीच सम्पन्न भएको हो।
तालिममा नं. १३ गण हेडक्वार्टरबाट १० जना र मातहतका युनिटबाट २५ जना गरी कुल ३५ जना सशस्त्र प्रहरी कर्मचारी सहभागी थिए। जसमध्ये १० जना महिला थिए।
तालिमको समापन समारोहमा बोल्दै वक्ताहरूले आत्मरक्षा तालिमको आवश्यकता र महत्त्वमाथि प्रकाश पारे। उनीहरूले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूको कार्यदक्षता र आपत्कालीन अवस्थाको सामना गर्ने क्षमता बढाउनका लागि यस्ता तालिमहरू अपरिहार्य रहेको बताए।
वीरगन्ज तेक्वान्दो डोजांगका प्रमुख प्रशिक्षक मोहम्मद वेशसहित ९ जना प्रशिक्षकले तालिम सञ्चालन गरेका थिए। प्रशिक्षकहरूमा प्रथम बर्णवाल, इमरान शेख, रोशन पटेल, सुजित यादव, राजन गुप्ता, हिमानी गुप्ता, नेहा झा र सन्तोष कुमार रौनियार रहेका थिए।
कार्यक्रममा आत्मरक्षाको अर्थ केवल तत्कालको प्रतिकार मात्र नभएर सम्भावित खतराबाट जोगिने क्षमता पनि रहेको उल्लेख गरिएको थियो। आयोजकका अनुसार यस तालिमले सुरक्षाकर्मीहरूलाई अझ बढी दक्ष, आत्मविश्वासी र जिम्मेवार बनाउन मद्दत गर्नेछ। सशस्त्र प्रहरी बलले भविष्यमा पनि यस्ता तालिमलाई निरन्तरता दिने जानकारी गराएको छ।