जलेश्वरमा संघीय गणतान्त्रिक गठबन्धनको शक्ति प्रदर्शन

महोत्तरी । संघीय गणतान्त्रिक गठबन्धनले महोत्तरीको जलेश्वरमा एक विशाल जनजागरण रैली र अन्तरक्रिया सभाको आयोजना गरेको छ।

यस कार्यक्रममा हजारौंको संख्यामा सहभागी भएका जनताले मधेशी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न सशक्त आवाज उठाएका छन्।

जिल्ला समन्वय समितिको हलबाट सुरु भएको रैलीले नगर परिक्रमा गरी पुनः सोही स्थानमा पुगेर सभामा परिणत भएको थियो। सहभागीहरूले ‘एक मधेश, एक प्रदेश’, ‘मधेशी तथा उत्पीडित जनताको अधिकार सुनिश्चित गर’, ‘भ्रष्टाचारीहरूलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए।

सभालाई सम्बोधन गर्दै गठबन्धनका संयोजक तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले उत्पीडित जनताको मुक्ति, समानता र सामाजिक न्यायका लागि आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘राज्यको एकल जातीय चिन्तन र वर्तमान राजनीतिक नेतृत्वको कमजोरीले गर्दा उत्पीडित र मधेशी जनताको मुक्ति आन्दोलनमा बाधा पुगेको छ।’ उनले यो आन्दोलनलाई तेस्रो जनआन्दोलनको रूपमा अघि बढाउनुपर्नेमा पनि जोड दिए।

अन्सारीले राष्ट्रिय मुद्दामा पनि आफ्नो धारणा राखे। उनले लिपुलेक–कालापानी जस्ता संवेदनशील विषयमा सरकारले कडाइका साथ देशको पक्ष लिनुपर्ने बताए। २०७३ सालको गौर घटनाको छानबिनबारे सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै उनले भने, ‘छानबिन निष्पक्ष, पारदर्शी र कानुनसम्मत हुनुपर्छ, दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइनुपर्छ।’

बहुजन एकता पार्टीका कार्यवाहक अध्यक्ष राजाराम पासवानले दलित, मुस्लिम, निषाद र पिछडा वर्ग एकजुट भएमा मात्रै सत्ताको हरेक तहमा आफ्नो उपस्थिति सुनिश्चित गर्न सकिने बताए।

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले वर्तमान मधेशी नेतृत्वको आलोचना गर्दै भने, ‘मधेशी जनताले आफ्नो वास्तविक नेतृत्व रोज्नुपर्छ, किनकि कथित मधेशी नेताहरूले जनताको भरोसा तोडेका छन्।’

मधेश प्रदेशक पूर्व गृह, कानुन तथा सञ्चार मन्त्री बिमला अन्सारीले मुस्लिम, दलित, निषाद र पिछडा वर्गलाई राज्यले पछाडि पारेको भन्दै न्याय र समानताका लागि आफ्नै नेतृत्व रोज्नुपर्नेमा जोड दिइन्।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै