वीरगन्ज । वीरगन्जमा हैजाको संक्रमण महामारीको रूपमा फैलिन थालेको छ।
वीरगन्जका विभिन्न अस्पतालमा झाडापखालाको उपचार गराइरहेका बिरामीहरूको परीक्षण गर्दा हालसम्म २८ जनामा हैजाको संक्रमण पुष्टि भएको छ।
जनस्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, हालसम्म वीरगन्ज महानगरपालिकाको वडा नम्बर ११, १२ र १३ का बिरामीहरूमा हैजाको जीवाणु (भिब्रियो कोलेरा) भेटिएको छ। संक्रमण थप फैलिन नदिन जनस्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मीहरूको टोलीले घर–घरमा पुगेर बिरामीहरूको खोजी गरिरहेको छ र शंकास्पद बिरामीको परीक्षण गराइरहेको छ।
संक्रमणको सुरुवात वडा नम्बर १२, मुर्लीको नयाँ टोलबाट भएको थियो। सोही टोलका करिब ३० जनामा झाडापखाला देखिएपछि उनीहरू तराई हस्पिटलमा भर्ना भएका थिए। एकैपटक धेरै बिरामी आएपछि अस्पतालले महानगरपालिकालाई खबर गरेको थियो। त्यसपछि नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयले समन्वय गरी परीक्षण गर्दा सुरुमा तीन जनामा हैजा पुष्टि भएको थियो। उनीहरूमध्ये एक बालकको अवस्था गम्भीर रहेको जनाइएको छ।
हैजाको संक्रमण पुष्टि भएलगत्तै महानगरपालिकाले तत्कालै रोकथामका उपायहरू अपनाएको छ। अर्को सूचना जारी नभएसम्मका लागि भाजा, चटपटे र पानीपुरी लगायतका ‘स्ट्रिट फुड’ को बिक्रीमा पूर्ण रूपमा रोक लगाइएको छ। साथै, संक्रमणबाट जोगिने उपायबारे जनचेतना फैलाउन स्वास्थ्यकर्मीको टोली घर–घरमा परिचालन गरिएको छ।
यससँगै, प्रदेश र स्थानीय सरकार दुवैले हैजा नियन्त्रणका लागि आवश्यक कदमहरू चालिरहेका छन्। स्वास्थ्य विज्ञहरूले पानी उमालेर मात्र पिउन, सरसफाइमा ध्यान दिन र कुनै पनि लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान सबैलाई आग्रह गरेका छन्।