वीरगन्ज । वीरगन्ज महानगरपालिकामा हैजाको संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न महानगरपालिकाले एक महत्वपूर्ण निर्णय गरेको छ।
शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार, भाद्र ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि महानगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको छ।
महानगरपालिकाले विद्यालयका विद्यार्थी र शिक्षकहरूलाई संक्रमणबाट जोगाउन यो निर्णय लिएको हो। हैजाको जीवाणु दूषित पानी र खानाबाट सर्ने भएकाले बालबालिकाहरूमा यसको जोखिम बढी हुन्छ।
महानगरपालिकाले सबैलाई संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ। सूचनामा उल्लेख भएअनुसार, पानी उमालेर मात्र पिउन, शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुन, सरसफाइमा ध्यान दिन र काँचो खाने तरकारीहरूलाई तातोपानीले पखालेर मात्र खान सुझाव दिइएको छ।
शैक्षिक प्रशासन महाशाखाले संक्रमणलाई नियन्त्रणमा ल्याउन सबैको सहयोग र सतर्कता आवश्यक रहेको जनाएको छ।