ट्रेन्डिङ

गौर घटनाको छानबिनमा प्रभु साहमाथि कारबाही गर्न एमाले महासचिव पोखरेलको माग

महोत्तरी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौर घटनाको अनुसन्धानमा तत्कालीन माओवादी नेता प्रभु साहको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।

उनले हिंसा भड्काउन मुख्य भूमिका खेलेका साहमाथि कडा अनुसन्धान र कारबाहीको माग गरेका हुन्।

बर्दिवासमा एमाले मधेश प्रदेश कमिटीले आयोजना गरेको विधान संशोधन सुझाव संकलन कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतको आदेशपछि अनुसन्धान अघि बढ्नु स्वाभाविक प्रक्रिया भएको बताए। उनले दोषीले कारबाही भोग्नुपर्ने र निर्दोषले आत्तिनु नपर्ने भन्दै यस घटनामा एमालेको कुनै संलग्नता नभएको दाबी गरे।

पोखरेलले घटनाको दिन माओवादी र मधेशी फोरमले आ–आफ्नो कार्यक्रम राखेको अवस्थामा प्रभु साह पक्षका नेताहरूले उत्तेजना फैलाएको आरोप लगाए। ‘यदि प्रभु साहले जिम्मेवार नेताको भूमिका निभाएको भए, त्यो दिन गौरमा हिंसा हुँदैनथ्यो,’ उनले भने, ‘तर उनले उल्टो कार्यकर्तालाई भिडमा पठाएर उत्तेजना फैलाए, जुन कुनै जिम्मेवार नेताको कदम हुन सक्दैन।’

महासचिव पोखरेलले एमाले शान्ति र संवादको पक्षमा रहेको र प्रतिशोधको राजनीति नगर्ने बताए। यद्यपि, समाजमा अस्थिरता र हिंसा ल्याउने प्रयास गर्ने जो कोहीमाथि पनि अनुसन्धान हुनुपर्ने उनको भनाइ थियो।

एमाले मधेश प्रदेश कमिटीद्वारा आयोजित यस कार्यक्रममा प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य सुमन प्याकुरेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले पार्टीको विधान संशोधन सम्बन्धी सुझावहरू सर्वसम्मतिले पारित गरेको जानकारी प्रदेश सचिव मनोज पौडेलले दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै