सरकारी कर्मचारीको मनोवृत्तिमाथि मन्त्रीको प्रश्न : ‘काम भन्दा बढी लोकसेवामा ध्यान’

नासु र सहसचिव पदमा खुला प्रतिस्पर्धा हटाउने प्रस्ताव

वीरगन्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरूले आफ्नो काममा भन्दा पनि व्यक्तिगत वृत्ति विकासका लागि लोकसेवाको तयारीमा बढी ध्यान दिने गरेको बताएकी छिन्।

विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यो प्रवृत्तिले सरकारको कार्यसम्पादनमा नकारात्मक असर परेको गुनासो गरिन्।

मन्त्री न्यौपानेका अनुसार, सरकारी कार्यालयहरूमा कर्मचारीहरूले हाजिर लगाएर बाँकी समय लोकसेवाको तयारीमा बिताउने गरेका छन्। उनले यदि सबै पदमा खुला प्रतिस्पर्धा गरियो भने काम गर्ने प्रवृत्ति झनै घट्ने र पढाइ र रटाइमा मात्र ध्यान जाने भएकाले सबै पदमा खुला प्रतिस्पर्धा गर्न नहुने धारणा राखिन्।

नासु र सहसचिव पदमा खुला प्रतिस्पर्धा हटाउने प्रस्ताव

सङ्घीय मामिला मन्त्रालयले पेस गरेको निजामती विधेयकमा नायब सुब्बा (नासु) र सहसचिव पदमा खुला विज्ञापन हटाउने प्रस्ताव गरिएको छ। विधेयकको यस प्रावधानअनुसार अब खरिदार तहबाट मात्रै आन्तरिक बढुवामार्फत नासुमा प्रवेश गर्न सकिनेछ।

मन्त्रालयका सचिव रविलाल पन्थले यो नयाँ व्यवस्थाले खरिदार तहबाट सेवा प्रवेश गरेका सबैलाई बढुवाको अवसर सुनिश्चित गर्ने बताएका छन्। उनले एउटै प्रकृतिको काममा कर्मचारीहरूलाई काम गर्नुको सट्टा परीक्षाको तयारीमा मात्रै केन्द्रित हुनबाट रोक्न यो कदम चालिएको स्पष्ट पारे।

सांसदहरूको फरक मत

यता, विधेयकको यस प्रावधानमाथि सांसदहरूले भने फरक मत राखेका छन्। नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले कर्मचारीले पढ्छन् भनेर उनीहरूको वृत्ति विकासलाई रोक्न नहुने तर्क गरिन्। उनले भनिन्, ‘यदि कर्मचारीले काम गर्दैनन् भने त्यसको जिम्मेवारी हाकिमको हो, जसले काम गराउन सक्नुपर्छ। कार्यालय समयपछि कसैले अतिरिक्त समयमा पढेर नाम निकाल्छ भने त्यसलाई रोक्न पाइँदैन।’

राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले पनि खुला प्रतिस्पर्धालाई रोक्नु उचित नभएको बताएका छन्। यसरी मन्त्री र कर्मचारीतन्त्रको काम गर्ने शैलीमाथि प्रश्न उठिरहेका बेला, सांसदहरूले भने कर्मचारीको वृत्ति विकास र योग्यतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै