वीरगन्ज । सरकारले ल्याएको शिक्षा विधेयक र नीतिको विरोधमा उत्रिएका निजी विद्यालय सञ्चालक तथा शिक्षकहरूले वीरगन्जम प्रदर्शन गरेका छन्।
उनीहरूले राज्यको हस्तक्षेप र व्यक्तिगत सम्पत्ति हडप्ने प्रयासको कडा विरोध गर्दै आफ्ना मागहरू सार्वजनिक गरेका छन्। उनीहरूले आफूहरू शिक्षामा गरेको ६ खर्बभन्दा बढीको लगानीको क्षतिपूर्ति र ४ लाखभन्दा बढी कर्मचारी तथा शिक्षकको दायित्व सरकारले लिनुपर्ने माग गरेका छन्।
प्रदर्शनका क्रममा वक्ताले सरकारले निजी विद्यालयलाई ‘गैरनाफामूलक’ भनेर आफ्नो व्यक्तिगत सम्पत्ति कब्जा गर्न खोजेको आरोप लगाए। उनले सरकारलाई निजी विद्यालयमा रहेको ठूलो लगानीको क्षतिपूर्ति दिन र त्यहाँ कार्यरत शिक्षक र कर्मचारीको भविष्यको जिम्मेवारी लिन चुनौती दिए।
उनले निजी विद्यालयहरूले आफ्नो लगानी अन्य क्षेत्रमा स्थानान्तरण गर्न तयार रहेको तर व्यक्तिगत सम्पत्ति कब्जा गर्ने र सहमतिमाथि हस्तक्षेप गर्ने कुरा स्वीकार्य नभएको स्पष्ट पारे।
निजी विद्यालयहरूले १० प्रतिशत छात्रवृत्ति दिइरहेको भए पनि सरकारले यसमा राजनीति गरिरहेको आरोप प्रदर्शनकारीहरूले लगाएका छन्। विभिन्न राजनीतिक दलका नेताहरूले निजी विद्यालयहरूबाट चन्दा माग्न बन्द गर्नुपर्ने माग गरे। उनले एक जना माननीयले चन्दा दिने हो भने पूर्ण छात्रवृत्ति किन नदिने भनेर प्रश्न गरेको उल्लेख गर्दै, पहिले चन्दा माग्न बन्द गरेपछि मात्रै यस्ता कुरा गर्न आग्रह गरे।
हाल दिइँदै आएको १० प्रतिशत छात्रवृत्ति पनि वास्तविक लक्षित समूहसम्म नपुगेको आरोप प्रदर्शनकारीहरूले लगाएका छन्। उनीहरूका अनुसार, यो छात्रवृत्ति राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले आफ्नो भोट बैंक खुशी पार्नका लागि प्रयोग गरिरहेका छन्।
वक्ताले छात्रवृत्ति जेहेनदार र आरक्षित वर्गका लागि हुनुपर्नेमा चार तले घर भएका र धनाढ्य परिवारका सन्तानले पाइरहेको बताए। उनले निजी विद्यालयहरूलाई दबाब, डर र धम्की दिएर छात्रवृत्ति दिन बाध्य पारिएको गुनासो पनि गरे।
प्रदर्शनका क्रममा उनीहरुले आजैबाट कुनै पनि अलक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति नदिने र कुनै पनि राजनीतिक पार्टी वा भातृ संगठनलाई चन्दा नदिने प्रतिबद्धता व्यक्त गरे। उनले छात्रवृत्ति कसलाई दिने भन्ने अधिकार निजी विद्यालयको हुनुपर्ने बताए। उनले सरकारले छात्रवृत्ति वितरणको निगरानी गर्न चाहेमा नगरपालिकाका एकजना प्रतिनिधि राखेर गर्न सक्ने र यसमा पूर्ण सहयोग गर्न तयार रहेको पनि जानकारी दिए।