वीरगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेपछि उनी भैरहवा कारागारमा रहँदा निकै पीडामा रहेको बताएका छन्।
बुधबार लामिछानेलाई भेटेर फर्किने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले रविको अनुहारमा नै कमजोरी देखिएको बताए।
प्रचण्डका अनुसार, लामिछानेले भैरहवाको तुलनामा नख्खु कारागारको बसाइ र सुविधा धेरै राम्रो भएको बताएका छन्। ‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ,’ प्रचण्डले भने, ‘यहाँ आएपछि सुधार हुँदैछ। तर, उहाँ दुब्लाउनुभएको छ। उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको।’
लामिछानेले प्रचण्डलाई भैरहवा कारागारको बसाइ धेरै जटिल भएको र झन्डै ‘गोलघर’ जस्तै अवस्थामा राखिएको गुनासो पोखेको पनि प्रचण्डले बताए। उनले भैरहवामा धेरै ठूलो पीडामा भएको र नख्खुमा भने बसाइ, खानपिन सबै राम्रो भएको भन्दै कारागार प्रशासनको प्रशंसा गरेको प्रचण्डले जानकारी दिए।
आफ्नो मन्त्रिपरिषद्मा दुई पटकसम्म गृहमन्त्री भएकाले अभिभावकको हैसियतले पनि लामिछानेको अवस्था बुझ्न आफू कारागार पुगेको प्रचण्डले स्पष्ट पारे। उनले भैरहवा कारागारमा पनि भेट्न चाहेको तर समय नमिलेको बताए।