ट्रेन्डिङ

इँटा उत्पादनमा मधेश प्रदेश अग्रणी रहेको मुख्यमन्त्री सिंहको दाबी

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालमा इँटा उत्पादनमा मधेश प्रदेश सबैभन्दा अगाडि रहेको बताएका छन्।

नेपाल इँटा उद्योग महासंघ, मधेश प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको आज जनकपुरधाममा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री सिंहले उखु, आँप, माछा र धान जस्ता कृषि उत्पादनमा जस्तै इँटा उत्पादनमा पनि मधेश प्रदेशको योगदान प्रमुख रहेको उल्लेख गरे। मुलुकभर रहेका करिब १३ सय इँटा उद्योगमध्ये ७ सय मधेश प्रदेशमै रहेको र हाल ३२० भन्दा बढी सञ्चालनमा रहेको जानकारी उनले दिए।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशबाट संघीय सरकारलाई सबैभन्दा बढी राजस्व जाने गरेको भए पनि त्यसअनुसार बजेट प्राप्त नभएको गुनासो पोखे। साथै, उनले स्थानीय तहहरूलाई प्रदेश सरकारको भागमा पर्ने कर बुझाउन पनि आग्रह गरे। ‘निकासी पैठारी, खोला र मनोरञ्जन लगायतका कर उठाउने पालिकाहरूले उठेको करबाट ४० प्रतिशत प्रदेश सरकारलाई पठाउनुपर्ने हो, तर पठाएका छैनन्,’ उनले भने। उनले तत्कालै प्रदेश सरकारको भागको कर बुझाउन आग्रह गरे।

मुख्यमन्त्री सिंहले इँटा उद्योगीहरूलाई पनि प्रदेश सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने आवश्यकता औँल्याए। उनले मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न सबै उद्योगीहरूलाई आग्रह गरे।

महासंघका अध्यक्ष सञ्जीव साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनकपुरधामका मेयर मनोज साह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधान लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै