वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–२१, परवानीपुरस्थित निभासा इन्डष्ट्रिज प्रालिमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ३९ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
आज बिहान करिब ९ः४५ बजेको समयमा भएको उक्त आगलागीबाट उद्योगमा रहेका महत्त्वपूर्ण मेसिनरी र उपकरणहरू जलेर नष्ट भएका छन्।
फरजना खातुनको स्वामित्वमा रहेको तीनतल्ले पक्की घरको भुइँ तल्लामा सञ्चालित सो उद्योगमा अचानक विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी परवानीपुर, सशस्त्र प्रहरी बल श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट ३० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
स्थानीय, दमकल र प्रहरीको संयुक्त प्रयासमा करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। आगलागीबाट कुनै पनि मानवीय वा चौपायाको क्षति भने भएको छैन।
आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरणअनुसार करिब ३२ लाख रुपैयाँ बराबरको हिट ट्रान्सफर्मर मेसिन, २ लाख २० हजार रुपैयाँको सर्भो स्टेबलाइजर, ३ लाख रुपैयाँको रोलिङ मेसिन र २ लाख रुपैयाँको वाइरिङ पार्ट्स जलेर नष्ट भएका छन्। कुल क्षति अनुमानित ३९ लाख २० हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।