वीरगन्ज । नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्र आन्तरिक विवाद चुलिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई पदबाट हटाएकी छन्।
चौधरीलाई हटाएपछि श्रेष्ठले आफैँले संसदीय दलको नेतृत्व सम्हाल्ने गरी संसद् सचिवालयमा पत्र पठाएकी छन्।
अध्यक्ष श्रेष्ठले पत्रमा चौधरीलाई ‘पार्टीको हितविपरीत कार्य गरेको’ आरोप लगाउँदै स्पष्टीकरण सोधिएको र सोको चित्तबुझ्दो जवाफ नदिएपछि कारबाही गरिएको उल्लेख गरेकी छन्। पत्रमा भनिएको छ, ‘मा. गंगाराम चौधरीलाई पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२ साउन ३० गते कारबाही गरिएको छ।’
यस कारबाहीपछि संसदीय दलको नेताको पद रिक्त भएकाले पार्टीको निर्णयअनुसार अध्यक्ष स्वयंले सो भूमिका निर्वाह गर्ने व्यहोरा पनि श्रेष्ठले संसद् सचिवालयलाई जानकारी गराएकी छन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखीकरण गर्नका लागि श्रेष्ठले यो पत्र पठाएकी हुन्।